Public Pana
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालको सान्त्वना जित

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । कुशल भुर्तेलको अल राउन्ड प्रदर्शनको मद्दतमा नेपालले यूएईको ए टिमलाई ३ विकेटले पराजित गरेको हो ।

श्रीलंकास्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईलाई नेपाली बलरले ४४ ओभरमा १५७ रनमा अलआउट गरेको हो । पहिलो विकेटका लागि लभप्रित सिंह र अर्यान्श शर्माले ३९ रनको साझेदारी गरेका थिए । एघारौं ओभरमा कुशल मल्लले अर्यान्शलाई १४ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । १६औं ओभरमा अन्श टन्डन व्यक्तिगत ३ रनमा मैदानबाट बाहिरिए । उनको विकेट पवन सर्राफले लिएका हुन् ।

यूएईको इनिङसमा लभप्रितले ५२ रन बनाउनुबाहेक अन्यले राम्रो गर्न सकेनन् । करियरकै पहिलो अर्धशतक प्रहार गरेका उनी कुशल भुर्तेलको बलमा आउट भएका थिए । भुर्तेलले १० ओभर बलिङ गर्दै ४० रन खर्चिएर ६ विकेट लिएका हुन् । उनले आफ्नो करियरकै उत्कृष्ट बलिङ गरेका हुन् । श्याम ढकालले दुई विकेट लिए ।

जवाफमा नेपालले २३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेटायो । ओपन अर्जुन साउद ओभरको पहिलो बलमै आउट भएका थिए । तर कुशल भुर्तेल र देव खनालले ९८ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

कुशलले ४३ बलमा ७१ रनको योगदान गरे । उनले नौ चौका र चार छक्का प्रहार गरेका थिए । सन्दीप जोरा २४, गुल्सन झा ११ र कप्तान रोहित पौडेल ११ रनमा आउट भए । पवनले खाता खोल्न सकेनन् । देव खनालले २४ रन जोडे । प्रतिश जीसी ८ र कुशल मल्ल २ रनमा अविजित रहे ।

मोहम्मद फराजुद्दिनले ५ र मोहम्मद जवादुल्लाहले दुई विकेट लिए । समूह बीमा रहेको नेपाल भारत र पाकिस्तान एसँग पराजित भएपछि यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । यूएई जितविहीन हुँदै घर फर्कियो ।
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update