Public Pana
राष्ट्रपति पाउने भएपछि दाहाललाई विश्वासको मत दियौं : खड्का

नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् ।

आज मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले राष्ट्रपति कांग्रेसले पाउने सर्तमा प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिइएको जनाए । एमाले–माओवादी केन्द्रलगायत दलको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त दाहाललाई प्रमुख प्रतिपक्षी कांग्रेसले पनि विश्वासको मत दिएको थियो । विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा दाहालले राष्ट्रपति कांग्रेसलाई दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।

‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौं । विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउन वर्तमान प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा । हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो,’ खड्काले केन्द्रीय सदस्यहरुमाझ भने, ‘त्यही विश्वासका आधारमा हामीले विश्वासको मत दियौं । त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरण स्वरुप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा निर्वाचित गर्यौ।’

c, meting1689681105.jpg

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए । जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै उनले आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको दाबी गरे । ‘सरकारको कामबाट सकेसम्म जनतालाई प्रेरित गरेर जनतालाई उत्साहित गर्ने, जनतालाई नयाँ आशा र भरोसा दिलाउने कामका लागि हामीले अगाडि लाग्नु छ । कहीँ यताउता गर्न सकेनौं भने जनताप्रति नकारात्मक असर पर्ने, जनता रिसाउने, मतदाता रिसाउने, पार्टी बचाएर जमिनमा बसेका कार्यकर्ता सदस्यहरु हामीसँग रिसाउने काम नभइदिओस् भन्ने आमअपेक्षा छ,’ उनले भने, ‘जिल्लामा जाँदा त्यो खालको अनुभूति हुन्छ । मलगायत ९ जना साथी सरकारमा छौं । अहिलेसम्म जानेर नियतवश कुनै गल्ती कमजोरी गरेको जस्तो लाग्दैन ।’

उनले पार्टीको मर्यादालाई कायम राख्दै अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गरे ।
आज मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक भोलि (बुधबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update