Public Pana
खेलकुदबारे बेखबर मन्त्री

अखिल नेपाल फुटबल सघंले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको उपाधि जितेर फर्किएको टोलीलाई प्रायोजनको टुंगो गर्न मंगलबार होटल सोल्टीमा एक कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ पनि सहभागी थिए ।
नेपाल सरकारको प्राथमिकतामा अझै पनि खेलकुद पर्न सकेको छैन। खेलक्षेत्रलाई बजेटमा पनि सरकारले हेला गर्दै आएको छ ।

झनै खेलकुद मन्त्रालय सम्हाल्न प्राय कोही नेता तयार हुँदैनन्। अहिलेको गठबन्धन सरकारमा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

कांग्रेसबाट खेलकुदमन्त्रीमा मोरङबाट विजयी सांसद डिगबहादुर लिम्बुले जिम्मेवारी पाएका छन्। तर उनी मन्त्री भएदेखि गुमनाम जस्तै छन् ।
उनै गुमनाम मन्त्री नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले प्रायोजन गर्न आयोजित कार्यक्रममा होटल सोल्टीमा झुल्किए ।

जहाँ युनिलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि एन्फासँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । युनिलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि करिव २५ लाख बराबरको प्रायोजन गर्नेछ ।
सम्झौता कार्यक्रममा महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बादेखि एन्फा अध्यक्ष नेम्बाङसहितले बोले ।

कार्यक्रममा प्रमुख अतिथि बनाइएका लिम्बुलाई पनि बोल्न दिइयो। लिम्बुले बोल्न त बोले तर उनलाई खेलकुद क्षेत्रबारे थोरै पनि ज्ञान नभएको पुष्टि उनैले गरे ।

आफ्नो विभागीय मन्त्रालय अन्तर्गतका खेल गतिविधिबारे उनलाई कुनै जानकारी नरहेको विवरण भाषणमै सार्वजनिक गरे । 
उनले आफ्नो सम्बोधनका क्रममा महिला फुटबल टोलीलाई विश्वकप फुटबलमा खेल्न जान लागेको भन्दै शुभकामना दिए । 

खेलकुदबारे कुनै जानकारी नलिई बोलेका उनको उक्त कुराले कार्यक्रमका सहभागीहरुबीच खासखुस चल्यो ।
युनिलिभरसँग एन्फाले महिला फुटबल टोलीका लागि गर्न लागेको प्रायोजन सम्झौता कार्यक्रममा आएर उनले विश्वकपमा जान लागेको भन्दै शुभकामना दिएर हाँसोको पात्र बन्न पुगे । 

जबकि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको पहिलो चरण पनि पार गर्न सकेको छैन। 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update