Public Pana
२००७ मा लन्च गरिएको पहिलो आईफोन ४ जीबी मोडल करिब अढाई करोडमा बिक्री

लगभग १६ वर्ष पहिले लन्च गरिएको एप्पल आईफोन एक व्यक्तिले करोडौंमा रकम तिरेर किनेको छ । हामी एप्पल आईफोन उत्पादन लाइनअपको पहिलो मोडेलको बारेमा कुरा गर्दैछौं, जुन सन् २००७ मा स्टीभ जब्सद्वारा प्रस्तुत गरिएको थियो ।

यो पहिलो आईफोन मोडेल दुई भण्डारण संस्करण ४जीबी र ८ जीबीमा लन्च गरिएको थियो। त्यतिबेला यसको मूल्य ५०० देखि ६०० डलरसम्म थियो तर अहिले एक व्यक्तिले यसको लागि १ लाख ९० हजार डलर तिर्न राजी भएका छन् ।
यो पहिलो रिलीज, कारखाना (फ्याक्ट्रि) सिल गरिएको आईफोन ४जीबी केहि हप्ता अघि एलसीजी लिलामीमा सूचीबद्ध गरिएको थियो । लिलामी कम्पनीले उक्त एकाइ ५० हजार डलरदेखि १ लाख डलरको बीचमा लिलामीकर्ताहरुले खरिद गर्न सक्ने अनुमान गरेको छ ।

९टू५ म्याकका अनुसार, ३० जुनमा केवल १०,००० डलरदेखि बिडिङ सुरु भएको थियो। बिडिङ सुरुमा बिस्तारै बढ्यो र आइतवार, जुलाई १६ सम्म आईपुग्दा ४२ हजार डलरमा पुग्यो ।

रिपोर्टहरूकाअनुसार यस पछि, बिडिंग द्रुत गतिमा बढ्यो र धेरै बोलीहरू पछि, विजयी बोली १ लाख ९० हजार ३७२ डलर अर्थात लगभग २ करोड ५० लाख रुपैयाँ थियो ।

रिपोर्टका अनुसार, सोही पहिलो रिलिजको ८ जीबी मोडल यस वर्ष फेब्रुअरीमा ६४ हजार डलरमा लिलामी भएको थियो। त्यति मात्र होइन, अर्को सिल गरिएको ८ जीबी मोडल आइतबार मात्र ३९,३३९ डलरमा बिक्री भएको थियो ।
कसरी ४जीबी मोडेल ८जीबी स्टोरेज भन्दा उच्च मागमा थियो भनेर तपाईँ अब सोच्दै हुनुहुन्छ होला। तर लिलामी भन्छ कि “मूल द्ध४जीबी मोडेललाई आईफोन सङ्कलनकर्ताहरू बीच “होली ग्रेल” मानिन्छ ।

यसको चरम अभाव प्रत्यक्ष रूपमा यो सीमित उत्पादनसँग सम्बन्धित छ। जून २९, २००७ मा ८ जीबी मोडेलको साथमा लन्च भएको हुँदा ४ जीबी मोडेलको बिक्री सुरुवात सुस्त भएको थियो। खरीदकर्ताहरूले स्टोरेज स्पेस दोब्बर भएको आईफोनको लागि अतिरिक्त १०० डलर तिर्ने छनौट गरे । बिक्री घट्दै गएको कारण, सेप्टेम्बर ५, २००७ मा पहिलो रिलीज भएको दुई महिना पछि एप्पलले ४ जीबी मोडेल बन्द गर्ने निर्णय गरेको थियो ।

यो मौलिक आईफोन ४जीबी स्टोरेज, गोरिल्ला ग्लासको साथ ३.५ इन्च टिएफटी टचस्क्रिन, १,४०० एमएएच ब्याट्री, र एकल २ मेगापिक्सेल रियर क्यामराको साथ लन्च भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update