Public Pana
अनधिकृत संरचना हटाउन फिल्डमै पुगे बालेन

महानगरपालिकाले आज नयाँ बानेश्वर-शंखमुल क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरू गरेको छ।

बिहिबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौंको नयाँ बानेश्वर- शंखमुल क्षेत्रमा अनुगमन गरि मापदण्ड र अनुमति बिना बनाएका संरचना हटाउन निर्देशन दिएको हो।
बुधबार एकाएक संरचना भत्काएको महानगरले आज बानेश्वर क्षेत्रमा संरचना हटाउन समय दिएर सटर बन्द गराएको छ।

अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन्।
महानगरपालिकाले  अवैधरूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । 

‘यो अभियानको रूपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रूपमा निर्माण भएका संरचना बाँकी राखिने छैन’, कामपा प्रमुख बालेन शाहको सचिवालय सदस्य सुनिल लम्सालले भने। 

नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए। ‘संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ’, उनले भने।

यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरेपछि बुधबारदेखि  अवैध संरचना भत्काउने काम सुरू गरेको हो। उक्त कार्य सुरु गरेसँगै आगामी दिनमा पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ। ठूला ठूला मल बनाउने र पार्किङका लागि निर्धारण गरिएको स्थान महँगो भाडामा लगाइएकाले कामपाले यस किसिमको कदम चालेको जनाएको छ।  

महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update