Public Pana
चार वर्षमा दुधौरा पुल निर्माणको काम ५० प्रतिशतमात्र  

पूर्वपश्चिम राजमार्गस्थित निजगढ–पथलैया सडकखण्डको दुधौरा पुल निर्माण सुुरू भएको चार वर्ष बितिसक्दा अहिलेसम्म  ५० प्रतिशत काम मात्र सम्पन्न भएको छ । 

ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सो पुल तोकिएकै समयसीमाभित्र निर्माण नहँुदा राजमार्ग भएर गुड्ने सवारीसाधन र यात्रुहरूले जोखिम मोल्दै आइरहेका छन् । पुलको पिलर भासिएपछि सडक कार्यालयले ठेक्कामार्फत् नयाँ पुल निर्माण थालेको हो । 

महादेव÷खिम्ती÷हीराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको उक्तपुलनिर्माण सम्पन्न गर्नको लागि १७ करोड २२ लाखमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ । 

साविक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकोले पुरानो पुललाई पूर्णरूपमा भत्काएर नयाँ पुलको डिजाइनपछि निर्माणका लागि ठेक्का सम्झौता भएको महाशाखाले जनाएको छ । 

सो पुल निर्माण गर्ने ठेकेदार कम्पनीको आग्रहपछि २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी म्याद थप गरेपछि अहिले कामले केही गतिलिएको छ ।

Dhudhara1.png1689669223.png

तर, अहिलेसम्ममा ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सवारी साधन आवतजावतको लागि दुधौरा खोलामा बेलिब्रिज सञ्चालनमा छ । तर बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०–६० टनभन्दा बढी भारका माल वाहक सवारी साधन ओहोरदोहोर गर्ने गरेकाले सो ब्रिज कमजोर बन्दै गइरहेको सवारी चालकहरूले बताएका छन । 

ठेकेदार कम्पनींका इन्जिनीयर अजयकुमार झाले अहिलेकै गतिमा काम हुनसके आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने बताउनुभयो । दुधौरा खोलाबाट नदीजन्य पदार्थको जथाभावी उत्खनन, दोहनले पुलको पिलर भासिएर नया निर्माण गर्नुपर्ने भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update