Public Pana
केन्द्रीय समिति बैठक लाइभ गर्ने कांग्रेस सभापति देउवाको प्रस्ताव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।

देउवा निवास धुम्बाराहीमा भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन् ।

एक वर्षपछि भोलि मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ ।

धेरै जना लाइभ गर्न सहमत भएका छन् ।

केन्द्रीय समिति बैठकमा धारणा राख्दा उठान नगरेका विषय पनि नेताहरूले पछि मिडियामा उठान गर्ने गरेको भन्दै सभापति देउवाले यसअघि नै बैठक लाइभ गर्नुपर्ने बताएका थिए । 

कांग्रेस केन्द्रीय समिति बैठक करिब एक साता चल्ने अनुमान गरिएको छ ।

नेपाली कांग्रेसले भोलि बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए । त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिए । उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे ।

केन्द्रिय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update