Public Pana
आजदेखि बन्द हुने भनेपनि विदेशी च्यानलको प्रसारण रोकिएन 

विदेशी च्यानल अपरेटरहरुले ‘आला कार्ट’ मूल्य प्रणालीअनुसार नेपाली वितरकहरुलाई धमाधम मूल्यसूची पठाउन थालेसँगै चालु आर्थिक वर्षको पहिलो दिन आज सोमबारदेखि विदेशी च्यानलको प्रसारण नरोकिने भएको छ ।

सरकारले असार २८ गतेभित्र सःशुल्क रहेका विदेशी च्यानलहरुको शुल्कको मूल्यसूची सूचना तथा प्रसारण विभागमा उपलब्ध नगराएको भन्दै सोमबारबाट प्रसारण रोक्ने चेतावनी दिएको थियो। तर, विदेशी च्यानल अपरेटरहरुले धमाधम नेपाली वितरकहरुलाई शुल्क पठाउन थालेसँगै च्यानल प्रसारण रोकिने अवस्था टरेको छ। त्यही भएर सोमबार विदेशी च्यानल निर्वाध रुपमा संचालन भइरहेका छन् ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार तीनवटा विदेशी च्यानलको प्याकेजको मूल्य आइतबार मात्र आएको बताए ।

सोनी, कलर्स र डिस्कभरी गरी तीनवटा प्याकेजको मूल्य उपलब्ध भएको छ । 
विदेशी च्यानल अपरेटरहरुले नेपाली च्यानल वितरकहरुलाई प्रति ग्राहक प्रति प्याकेजको मूल्य उपलब्ध गराउने छन् । 

त्यसैगरी, घरमा बालबच्चाहरु छैनन् भने अब उपभोक्ताहरुले कार्टुन च्यानल नलिन पाउँछन् । अहिले टिभीमा कुनै च्यानल हेरे पनि नहेरे पनि फ्ल्याट शुल्क तिर्नैपर्ने बाध्यता उपभोक्ताहरुलाई छ । अब आफूले रुचाएको र आवश्यक पर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको छ ।

सोनीको १४ वटा, स्टारको ३२ वटा च्यानललगायत विभिन्न अपरेटरहरुले विभिन्न प्रकृतिका च्यानल नेपालमा प्रसारण गरिरहेका छन् ।

संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो । 

आला कार्ट लागु भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update