Public Pana
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता 

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र (विदेश) मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्डको बैंककमा उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमा फोटो पोस्ट गर्दै नेपालका परराष्ट्रमन्त्रीसँग भेट भएको जानकारी गराएका हुन् ।
उनले दुई मन्त्रीहरुबीच आआफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको उल्लेख गरेका छन् ।

बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौँ,’ उनले भने, ‘ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए ।’

बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका छन् । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।

परराष्ट्रमन्त्री साउद साउन २ गते भोली मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update