Public Pana
आजदेखि अनलाइनबाटै कम्पनी दर्ता र खारेजी सेवा 

कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइनबाट नयाँ कम्पनी दर्ता र खारेजी प्रक्रिया आज नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबारदेखि अघि बढाएको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ बजेटमा “अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ” भन्ने व्यवस्था उल्लेख भएअनुसार नै उक्त प्रकृया अघि बढाएको जनाएको हो । 
अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न रजिस्ट्रार कार्यालयले सूचनाका साथ निर्देशन पनि जारी गरेको छ । यसाका साथै सबै सरोकारबालाहरुलाई उक्त निर्देशन पालना गर्दै प्रकृयाहरु पुरा गर्न समेत आग्रह समेत गरेको छ ।

जसअनुसार सरकारले तर्जुमा गरेको नीति कार्यान्वयनको लागि यस कार्यालयले निकट भविष्यमा कम्पनी दर्ता, कम्पनी प्रशासन एवं खारेजी सम्बन्धी सेवा लिनको लागि हुलाक सेवा प्रदायकसंगको सहकार्यमा सेवाग्राही कम्पनीको संचालक वा प्रतिनिधि यस कार्यालयमा भौतिक रुपमा उपस्थित हुनु नपर्ने, कम्पनीको रजिष्टर्ड ठेगानामा कार्यालयले नै कागजात पठाउने गरी कार्यढाँचा परिमार्जनको गृहकार्य गरिरहेको असार २६ मा जारी निर्देशनमा भनिएको छ ।

सेवा प्रवाहमा प्रविधिको प्रयोग वढाउन सरकारका निकायहरुबीच सेवाग्राही कम्पनी सम्बद्ध सूचनाहरु आदान प्रदान गर्न र एउटै कागजात विभिन्न सरकारी निकायहरुमा पटक पटक पेश गर्नु पर्ने हैरानीबाट मुक्ति दिलाउन कम्पनी सम्बद्ध अभिलेखको शुद्धिकरण र गुणस्तर अभिवृद्धि एवं सूचना प्रविधि सम्बद्ध पूर्वाधारहरुको तैयारी गर्ने जस्ता कार्य कार्यालयले प्राथमिकताका साथ सम्पादन गरिरहेको जनाएको छ। 

सोही प्रयोजनको लागि कार्यालयलाई कम्पनी सम्बद्ध विभिन्न सूचना तथा जानकारी एवं परिमाजिर्त तथा सम्पादित कागजातहरु आवश्यक भएकोले कम्पनी ऐनको दफा १६. तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी ऐनको दफा १८५ वमोजिम नियुक्त कम्पनी सचिव, कम्पनी सचिवको रुपमा काम गर्न तोकिएको कर्मचारी, कम्पनीका संचालक एवं प्रचलित कानुनले कम्पनी वा ट्रष्ट सेवा प्रदायक भनी परिभाषित गरिएका संस्था वा व्यक्तिहरुलाई विभिन्न निर्देशन जारी गरेको छ ।

उक्त निर्देशनअनुसार कम्पनीहरुलाई पत्रव्यवहार गर्न सकिने विस्तृत र पूर्ण ठेगाना (घर नं. समेत खुल्ने आधुनिक ठेगाना) एवं फोन नं. (मोवाइल नं.) अनिवार्य रुपमा अभिलेख गर्नु गराउनु हुन सूचित गरिएको छ भने यसपूर्व संस्थापित कम्पनीहरुले सफ्वेयरको ठेगाना परिवर्तन भन्ने अप्सनमा गै पत्राचारको लागि आवश्यक विस्तृत ठेगाना र फोन नं. अध्यावधिक गर्न भनिएको छ ।

यस्तै कम्पनीको इमेल ठेगाना अध्यावधिक गर्नुपर्ने भए गर्न त्यस्तो इमेल ठेगाना र कार्यालयले दिएको पासवर्ड कम्पनीको आधिकारीक व्यक्तिको नियन्त्रणमा राख्न र स्वयं प्रयोग गर्न समेत सूचित गरिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयकाअनुसार कम्पनी संस्थापना गर्दा वा शेयर खरिद विक्रीको चरणमा कम्पनीका शेयरधनी तथा संचालकहरुको राष्ट्रिय परिचयपत्र नं. समेत आगामी दिनमा अनिवार्य गर्ने, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग संगको सहकार्यमा व्यक्तिको वायोमेट्रिक विवरण समेत रुजु गर्ने कार्ययोजना रहेकोले कम्पनीका शेयरधनीहरुको व्यक्तिगत विवरणमा राष्ट्रिय परिचयपत्र नं. र विस्तृत ठेगाना समेत क्रमशः अध्यावधि गर्न दर्ता भएका कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यसका साथै अन्य सरकारी निकायहरुबाट चुस्त दुरुस्त सेवा प्राप्त गर्न कम्पनीको प्रवन्धपत्र, नियमावली, शेयरलगत लगायतका कागजात उक्त सरकारी निकायले समेत हेर्न सक्ने गरी राख्नु पर्ने भएकोले कम्पनी निर्देशिका, २०७२ को दफा ९५ञ को उपदफा ४ वमोजिम दुई वा सो भन्दा वढी पटक प्रवन्धपत्र तथा नियमावली संशोधन गराएको भए त्यस्तो प्रवन्धपत्र तथा नियमावली सम्पादन तथा एकीकृत गरी विद्युतीय सूचना प्रणालीको तोकिएको खण्डमा अपलोड गराउनुपर्नेछ भने कम्पनीका संचालक तथा शेयरधनीहरुको लगत अभौतिकरण गरी पेश गर्न र भविष्यमा यस्तो विवरण डिजिटल सिग्नेचर मार्फत प्रमाणीत गर्नु पर्ने र कार्यालयले समेत सोही वमोजिम सेवा प्रवाह गर्ने योजना रहेको हुँदा उक्त विवरणहरु समयमा नै क्रमशः अभौतिकीकरण गर्नु गराउन भनिएको छ ।

हालसम्म नेपालमा तीन लाख सात हजार ७९७ कम्पनी दर्ता भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update