Public Pana
किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै

किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।

ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।

किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) संकलन गरी ल्याउने गर्दछ ।

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्ने गरेको किरात याक्थुङ चुम्लुङ शाखा ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोले जनाइन् ।

मेन्याङबोका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा–युवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराबतत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछ ।

किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् ।

यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भाव पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन् । अब त नयाँ अन्नबाली र फलफूल पाके । यसकारण, अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किरात धर्मका जनकारको भनाइ छ ।


 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update