Public Pana
बन्चरेडाँडामा फोहोर विसर्जनमा फेरि अवरोध

नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरुलाई फोहोर विर्सजनमा अवरोध गरेका छन् ।

स्थानीयको अवरोधका कारण आज सोमबार बिहान फोहोर लिएर गएका गाडीहरु बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा रोकिएका छन् ।

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग एक वर्षअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले फोहोरका गाडीलाई अवरुद्ध गरेका हुन् ।

स्थानीयको अवरोधका कारण बिच बाटोमै ५० वटाभन्दा बढी फोहोर बोकेका गाडी रोकिएका छन् ।
नुवाकोटको ककनी गाउँपालिकाले गाउँपरिषदबाट साउन १ गतेदेखि प्रत्येक फोहोरको गाडीलाई एक सयदेखि १५ सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेको छ । यस निर्णयविरुद्ध हाल सर्वोच्च अदालतमा रित दायर भएको छ ।
तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि जनप्रतिनिधिले पनि स्थानीयको आन्दोलनमा साथ दिएका छन् ।

फोहोरका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै समाधानका उपाय अवलम्बन गर्न भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको उनीहरुको भनाइ छ । यसअघि कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने मात्रै ल्यान्डफिल साइटमा विर्सजन गर्नेलगायका सहमति भएको तर उक्त सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलित हुनु परेको स्थानीयले जनाएका छन् ।
गत वर्ष पनि स्थानीयले फोहोर विर्सजनमा लामो समय अवरोध गर्दा ठूलो संख्यामा प्रहरी परिचालन गरी हस्तक्षेप गर्नु परेको थियो ।

ककनीको ओखरपौवा क्षेत्रमा अवस्थित सिसडोल ल्यान्डफिल साइट फोहोरको डंगुरले भरिँदै गएपछि हाल बन्चरेडाँडामा फोहोर विसर्जन हुँदै आएको छ । सिसडोलमा करिब दुई दशकदेखि काठमाडौंको फोहोर विसर्जन हुँदै आएको छ ।


 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update