Public Pana
बालेनले क्रिश्चियन मिसनरीलाई जोगाउन खोजेपछि तनाव 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बाह (बालेन)ले क्रिश्चियन मिसनरी संस्थालाई उन्मुक्ति दिन खोजेपछि तनाव भएको छ । बालेको यो कदमको वडाध्यक्षहरुले कडा विरोध गरेका छन् । वडाध्यक्षको प्रतिकारपछि बालेन पछि हटेका छन् ।

भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने भनेर साँस्कृतिक राष्ट्रवादको कार्ड खेलेका बालेनले इसाई धर्मका गल्तीलाई भने ढाकछोप गरेर उन्मुक्ति दिन खोजेका हुन् । क्रिश्चियन मिसनरीहरु नेपालमा योजनाबद्ध रुपमा दबाब, प्रलोभन र अन्धविश्वासमा जबर्जस्ती धर्म परिवर्तन गराउँदै हिँड्दा चौतर्फी विरोध भइरहेका बेला मेयर बालेनले भने क्रिश्चियन मिसनरीको अभियानलाई बढावा दिनेगरी अगाडि बढेका छन् ।

हालै महानगरको कार्यपालिका बैठकमा बालेनले इसाई धार्मिक संस्थालाई सम्पत्ति कर छुट दिने प्रस्ताव प्रस्तुत गरेपछि सदस्यहरु झसंग भएका थिए । काठमाडौँस्थित इसाई धार्मिक संस्था यहोवा समाजलाई घरजग्गाको सम्पत्ति कर छुटको प्रस्तावमा वडाध्यक्षहरुले एकैस्वरमा विरोध गरे । जसका कारण त्यो प्रस्ताव पारित भएन । यहोवा समाज इसाई धर्म प्रचार गर्ने विश्वव्यापी संस्था हो । विश्वका २३९ देशमा यसका शाखा कार्यालय छन् ।

यो संस्थाले निःशुल्क बाइबल बाँड्नेदेखि विभिन्न सामाजिक कार्यका नाममा इसाई धर्मको प्रचार–प्रसार गर्ने गर्छ । शाखाले गरेका धार्मिक गतिविधिवारे २४० वटा मुलुकमा रिपोर्ट गरिन्छ । काठमाडौँ महानगरको वडा नं ३, १३, १४ र १५ मा यो संस्थाको स्वामित्वमा घरजग्गा छ, जसको सम्पत्ति कर छुटका लागि मेयरले कार्यपालिकामा प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावको विपक्षमा ८ नम्बरका वडाध्यक्ष आशामान संगत सुरुमै आपत्ति जनाउँदै विरोध गरे । वडा नम्बर २३ का वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले हचुवाका भरमा धार्मिक संस्थालाई कर छुट दिन नमिल्ने जिकिर गरे ।

सबै वडाध्यक्षहरूले सहमति जनाउँदै प्रतिवाद गरेपछि बालेन पछि हटे ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update