Public Pana
आर्थिक वर्षको अन्तिम दिन आज कुनै पनि भुक्तानी नहुने 

चालु आर्थिक वर्षको लागि खर्चको भुक्तानी गर्नुपर्ने समय सकिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको थियो ।

संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म रहेकोमा आइतबार कुनै पनि भुक्तानी गर्न नपाउने भएको राष्ट्र बैंकले जनाएको छ ।

नियमावलीको नियम ३० मा भनिएको छ ‘हिसाब मिलान गर्ने तथा खर्च लेखि राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकास दिइने छैन ।’

चालु आर्थिक वर्षको लागि आज आइतबार अन्तिम दिन हो । आइतबार भुक्तानी नहुने भएपछि शनिबार नै भुक्तानी दायित्व सकिएको हो । शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ । 
यो सँगै चालु वर्षको लागि नेपाल सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रूपैयाँ अर्थात १० प्रतिशतले बढी हो ।

चालु वर्षको लागि विनियोजन गरिएको रकमको तुलनामा ७९ प्रतिशत खर्च भएको छ। चालु वर्षमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो ।

गत जेठ १५ गते गरिएको सुंशोधिसत अनुमानको तुलनामा भने ९५ प्रतिशत खर्च हो । 
यो वर्ष चालु खर्च मात्रै १० खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ । 

पुँजीगत खर्च भने विनियोजन गरिएको रकमको तुलनामा ६१ प्रतिशत मात्रै भएको छ । ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३२ अर्ब रूपैयाँ खर्च भएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update