Public Pana
मुलुकभर वर्षात् हुने

पछिल्लो समय नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण वर्षा हुने संकेत देखिएको महाशाखाले जनाएको छ ।

अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्य छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक बदली रहनेछ । मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ ।

मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना छ ।
राति सबै प्रदेशमा पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मेघगर्जन र चट्याङसहितको वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने तथा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update