Public Pana
प्रधानमन्त्रीलाई पानी छ्यापेको विषयलाई लिएर कोसोभोको संसदमा हानाहान

प्रधानमन्त्रीमाथि पानी छ्यापेको विषयलाई लिएर कोसोभोको संसद्मा हानाहान भएको छ ।
प्रधानमन्त्री अल्बिन कुर्तीले हाउसलाई सम्बोधन गरिरहेका बेला एकजना विपक्षी सांसदले उनी र उनका उपप्रधानमन्त्रीमाथि बोतलको पानी छ्यापेका थिए । त्यस लगत्तै सत्ता पक्षका सांसद पानी छ्याप्ने सांसदमाथि जाइलागेका थिए । त्यसपछि संसद्मा सत्ता पक्ष र विपक्षी सांसदबीच मुक्का हानाहान चलेको थियो भने केहीबेर स्थिति तनावपूर्ण हुन पुगेको रोयटर्सले जनाएको छ ।

मर्यादापालकले हस्तक्षेप गरेपछि स्थिति नियन्त्रणमा आएको थियो । घटनापछि सभामुखले दुई घण्टाकालागि सदनको बैठक स्थगित गरेका थिए ।

घटना हुँदा प्रधानमन्त्री कुर्तीले उत्तरी कोसोभोका सर्ब जनजातिसँगको तनाव अन्त्यकालागि सरकारले चालिरहेका कदमबारे हाउसलाई जानकारी गराइरहेका थिए । कोसोभोका विपक्षी दलहरुले उत्तरी क्षेत्रमा सरकारले अपनाउँदै आएको नीतिबारे आपत्ति जनाउँदै आएका छन् ।

अमेरिका तथा यूरोपेली संघले पनि प्रधानमन्त्री कुर्तीमाथि त्यहाँको स्थिति शान्त पार्न दबाब दिँदै आएका छन् । सर्बियाको एक प्रान्तका रुपमा रहेको कोसोभोले सन् २००८ मा आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको हो । कोसोभामा रहेका अधिकांश जनजातीय सर्बहरुले यसलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्न अस्वीकार गर्दै आएका छन् ।

अमेरिका र युरोपेली संघका अधिकांश देशले कोसोभोलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता दिएपनि रुस र चीन लगायतका केही देशले मान्यता दिएका छैनन् । कोसोभोमा जनजाति अल्बेनियनको संख्या ९० प्रतिशत छ भने सर्बहरुको संख्या ५ प्रतिशत मात्र छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update