Public Pana
कोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ वटा ढोका खोलियो

लगातारको वर्षाले कोशी नदीमा पानीको बहाव बढेको छ ।
आज शुक्रबार १० बजे कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७१ क्युसेक प्रतिसेकेण्ड रेकर्ड भएको कोशी नियन्त्रण कक्षले जनाएको छ ।

ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएको छ ।
यस्तै सुनसरी खोलामा आएको बाढीका कारण भोक्राहा नरसिंह गाउँपालिका–८ मा रहेको सिसुवा–धरमपुर प्रहरी चौकी डुबानमा परेको छ । सुनसरी र मोरङबीच भएर बग्ने बूढीखोला, ट्याग्रा, सिंघिया, केसलीया, लोहन्द्रा गछिया बक्राहालगायतका खोलामा बाढी आएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग धरानले आग्रह गरेको छ ।

यसैबीच सप्तकोशीको पुलबाट एउटा ट्रक नदीमा खसेको छ । ट्रकमा सवार तीन जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच अविरल वर्षाका कारण विराटनगरमा डुबान भएको छ । बिहीबार रातिदेखि निरन्तर वर्षा भएपछि विराटनगरको पिपल चोक, कञ्चनबारी, शङ्करपुर, रानी, दरैया, जतुवालगायतको अधिकांश भूभाग डुबानमा परेको छ । तेतरियामा २० वटा घर डुबानमा परेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update