Public Pana
नासाले देखायो टेलिस्कोपले खिचेको “ताराहरूको बगैंचा”

जेम्स वेब टेलिस्कोपले एक वर्ष पूरा गर्दा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले टेलिस्कोपले खिचेको “ताराहरूको बगैंचा’”देखाएको छ । 

यसमा, पृथ्वीको सबैभन्दा नजिकको तारा बनाउने क्षेत्र, “रो ओफिउची क्लाउड कम्प्लेक्स” देख्न सकिन्छ। जेम्स वेब डिसेम्बर २०२१ मा अन्तरिक्षमा गएको थियो । यस टेलिस्कोपबाट पहिलो डाटा गत वर्ष जुलाईमा देखाइएको हो ।
जेम्स वेब टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारीको रूपमा सुरू गरिएको छ ।

हबल टेलिस्कोप ३० वर्षभन्दा बढी समयदेखि अन्तरिक्षमा रहेको र विश्वलाई ब्रह्माण्डका नदेखिएका तस्बिरहरू देखाउँदै आएको छ । जेम्स वेब टेलिस्कोप अन्तरिक्षमा सबैभन्दा उन्नत वेधशाला रहेको नासाले जनाएको छ ।
यसमा जडान गरिएको नियर इन्फ्रारेड क्यामराको सहायताले सबैले टाढाको ब्रह्माण्डका धेरै अनुपम तस्बिरहरू हेर्न पाइएको हो ।

हालै जेम्स वेबले अहिलेसम्मकै सबैभन्दा टाढाको ब्ल्याक होल पत्ता लगाएको हो । यो ब्ल्याक होलमा ९० लाख सूर्य आउन सक्छन् ।

वेबको एक वर्ष पूरा भएको अवसरमा नासाले शेयर गरेको तस्विर रो ओफिउची क्लाउड कम्प्लेक्सको हो । यो आकाशगंगामा पृथ्वीबाट करिब ३९० प्रकाश वर्ष टाढा अवस्थित छ । यो प्रकाश वर्ष भनेको एक वर्षमा प्रकाश पार गर्ने दूरी हो ।

जेम्स वेब टेलिस्कोपले खिचेको पहिलो तस्वीर गत वर्ष जुलाई १२ मा सार्वजनिक भएको थियो । त्यसमा पनि टाढाको ब्रह्माण्ड देखाइएको थियो । नासाले यो तस्बिर टाढाको ब्रह्माण्डको अहिलेसम्म लिइएको सबैभन्दा गहिरो र तीखो इन्फ्रारेड तस्विर भएको दाबी गरेको छ । एसएमएसीएस ०७२३ (SMACS 0723) नामक ग्यालेक्सी क्लस्टरको प्रत्येक विवरण जेम्स वेबद्वारा खिचिएको हो । 

जेम्स वेबको निर्माण लागत १० अर्ब अमेरिकी डलर हो । अमेरिकी अन्तरिक्ष एजेन्सीले यस टेलिस्कोपको उत्तराधिकारीका लागि पनि काम सुरु गरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update