Public Pana
वालेटबाट १ महिनामा २० अर्बको भुक्तानी


नेपालमा भुक्तानी सेवा प्रदायक (वालेट) मार्फत कारोबार गर्न संस्कार बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० जेठको मासिक भुक्तानी प्रणाली सूचक अनुसार वालेट मार्फत २० अर्ब १४ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

बैशाखमा वालेट मार्फत १९ अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । एक महिनाको अवधिमा वालेट मार्फत हुने भुक्तानी ८९ करोड १० लाख रुपैयाँले बढेको छ ।

बैशाखको तुलनामा जेठमा भुक्तानी रकम बढेसँगै कारोबार संख्या पनि बढेको देखिन्छ।

जेठमा वालेट मार्फत २ करोड ६ लाख ३० पटक कारोबार भएको थियो भने बैशाखमा १ करोड ९२ लाख ६४ हजार ८५ पटक कारोबार भएको थियो । एक महिनाको अवधिमा वालेट मार्फत १३ लाख ४१ हजार ९४५ पटकले कारोबार संख्या बढेको छ ।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update