Public Pana
नक्कली भुटानी शरणार्थी प्रकरणका थप १ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान केन्द्र (सिआइबी) ले पक्राउ गरेको छ ।

कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भ¥याङबाट पक्राउ गरेको हो ।
उनीमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको सिआइबीले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

मुद्दाको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् । तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए ।
प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिलाई ठगी गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update