Public Pana
मनाङबाट  दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मनाङेसँग चुनावी प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका दोर्जे लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् । 

सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङेलाइ निर्विरोध निर्वाचित हुने बाटो खुलेको हो ।। 
मनाङ ‘ख’ मा दीपक मनाङेको मात्रै उम्मेदवारी रहेका कारण प्रक्रिया पुर्याएर आजै निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी जिल्ला निर्वाचन कार्यालयको छ  ।

मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले दिउँसो १ बजेपछि मनाङे निर्विरोध निर्वाचित भएको घोषणा गरिने बताए । 
मनाङेले सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएपनि उम्मेदवारी दर्ता गर्नुअगाडि गठबन्धन छाडिसकेको बताएका थिए ।

उनले गठबन्धन छाडेको बताएपछि एमालेबाट पनि उम्मेदवारी परेन । स्वतन्त्र उम्मेदवार दोर्जेले पनि बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे एकल उम्मेदवार कायम भएका हुन् । 


 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update