Public Pana
जंगली च्याउ खाएकी महिलाको मृत्यु, उपचार गर्ने अस्पतालमाथि छानबिन गर्ने प्रशासनको तयारी

जंगलबाट ल्याएरको विषालु च्याउ खाँदा जिल्लाको गौरीशंकर गाउँपालिका–६ चंखुकी एक महिलाको मृत्यु भएको छ ।
परिवारका ४ जना बालबालिका बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाएर मृत्यु हुनेमा चंखुकी ३२ वर्षीया सोमलेकी शेर्पा रहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

असार २३ गते च्याउ खाएर सिकिस्त बिरामी परेका उनीहरुलाई उपचार हुन्छ भन्दै सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा राखिएको थियो ।

बुधबार शेर्पाको मृत्युपछि मात्रै अस्पतालले प्रहरीलाई विषालु च्याउ खाएर उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको थियो । जनशक्ति विनै अस्पतालले उपचार हुन्छ भन्दै बिरामी राखेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी नदिई उपचारमा राखेर मृत्युपछि मात्रै जानकारी दिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायब निरीक्षक सानु तामाङले जानकारी दिए । अन्य ४ बालबालिकालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । उनीहरुको अवस्था सामान्य भएपनि थप उपचारका लागि उद्धार गरेर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमालले उक्त अस्पतालमाथि तत्काल छानबिन थालिने बताएका छन् । अस्पतालको पूर्वाधार, जनशक्ति र मापदण्डका विषयमा छानबिन गरिने जनाए ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update