Public Pana
नेतृत्व परिवर्तनले राजस्व अनुसन्धान विभागको कामै प्रभावित

पटक–पटक नेतृत्व परिवर्तन हुँदा राजस्व अनुसन्धान विभागको काम नै प्रभावित भएको छ । गत आर्थिक वर्ष राजस्व चुहावट गरेको आरोपमा ७१ वटा मुद्दा दायर गरेको विभागले यो वर्ष २९ वटाको मात्रै अनुसन्धान सकेर अदालतमा मुद्दा पुराएको छ ।

राजस्व अनुसन्धान विभागमा चालु आर्थिक वर्षमा मात्रै चार जना महानिर्देशक परिवर्तन भएका छन् । पटक–पटकको नेतृत्व परिवर्तनले विभागीय अनुसन्धानका काम प्रभावित भएका छन् । गत वर्ष असारमा महानिर्देशक नियुक्त भएका झलकराम अधिकारी कात्तिकमै विभागबाट बिदा भएका थिए ।

त्यसपछि महानिर्देशकका रुपमा आएका मदन दाहालले तीन महिना मात्रै काम गरे । त्यसपछि नारायणप्रसाद सापकोटा महानिर्देशक भए । उनले पाँच महिना जिम्मेवारी सम्हाल्न नपाउँदै नवराज ढुंगाना गत असार १३ गतेदेखि महानिर्देशकको जिम्मेवारीमा छन् ।

विभागका अनुसार यो वर्ष २९ वटा राजस्व छलीका मुद्दा दर्ता भएका छन् । जसमा अधिकांश न्यून बिजकीकरणका छन् । दुई महिनाअघि वीरगन्ज भन्सारबाट छुटाइएको जुत्ता, टिसर्टलगायत वस्तुको न्यून मूल्यांकन गराएर रुट्स फेसन प्रालिले आयात गरेको भन्दै विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ । यसबाहेक चारवटा उजुरीमा अनुसन्धान चलिरहेको छ । विभागले अब डिजिटल कारोबारमा अनुसन्धान केन्द्रित गरेको महानिर्देशक नवराज ढुंगानाले जनाए ।

विदेशी मुद्रा अपचलनमा पनि अनुसन्धान गरी मुद्दा दायर गर्ने अख्तियारी विभागलाई छ । यस्ता विषयमा ३५ वटा मुद्दा दायर भएका छन् । गत वर्ष विभागले यस्ता ६० वटा मुद्दा दर्ता गराएको थियो । पछिल्लो समय न्यून बिजकीकरण, अन्तःशुल्क छली जस्ता घटना बढेको विभागको निष्कर्ष छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update