Public Pana
नेटोमा युक्रेनको सदस्यता अझै अनिश्चित, निर्धारित समयसीमा दिन अस्वीकार

पश्चिमा सैन्य गठबन्धन नेटोले युक्रेनलाई गठबन्धनको सदस्यता दिने सम्बन्धमा कुनै निर्धारित समयसीमा दिन अस्वीकार गरेको छ ।

यद्यपि, नेटोले सर्तहरु पूरा भएको र सदस्यहरु सहमत भएको अवस्थामा युक्रेनले भविष्यमा नेटाको सदस्यता प्राप्त गर्न सक्ने जनाएको छ । नेटोका शीर्ष नेताहरुले मंगलबार जारी घोषणा पत्रमा युक्रेनलाई सदस्यता दिने दिशामा द्रुत गतिमा अघि बढनु पर्ने आवश्यकतालाई बोध गरे पनि समयसीमा भने तोक्न नसकिने जनाएका हुन् ।

लिथुआनियाको राजधानी भिल्नियसमा मंगलबारदेखि शुरु भएको नेटोको शिखर सम्मेलन आज समाप्त हुँदैछ ।
नेटोको यो निर्णयले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भने असन्तुष्ट बनाएको छ । मंगलबार नै भिल्नियसमा आयोजित एक सभालाई सम्बोधन गर्दै जेलेन्स्कीले सदस्यताका लागि निर्धारित समयसीमा नतोकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शिखर सम्मेलनमा सहभागी हुन भिल्नियस पुग्नु अघि ट्वीट गर्दै जेलेन्स्कीले सदस्यता दिनमा विवेकहीन ढिलाई गरेको भन्दै नेटोको आलोचना गरेका थिए ।nada-11689148633.jpg

जेलेन्स्कीले आज नेटोका नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ । युक्रेनलाई नेटोको सदस्यता दिने टाइम फ्रेम दिन अस्वीकार गरेपनि यसका सदस्य राष्ट्रले रुसविरुद्धको युद्धमा सैन्य सहायता बढोत्तरीको तयारी गरेका छन् ।
युक्रेनलाई नेटोको सदस्यता दिने÷नदिने सम्बन्धमा यसका ३१ सदस्यहरुमा मत विभाजन रहँदै आएको छ । समान्यतया नेटोको सदस्यता प्राप्तिका लागि थुप्रै सर्तहरु पूरा गर्नु पर्ने हुन्छ भने सदस्य बन्न दशौं वर्ष लाग्न सक्छ । तर युक्रेनले भने द्रुत गतिमा नेटोको सदस्यता लिन चाहेको छ।

रुससँगको युद्ध जारी रहँदा युक्रेनले नेटोको सदस्यता प्राप्त गर्न नसक्नेमा सदस्य राष्ट्रहरु एक मत भएपनि उसलाई कति छिटो सदस्यता दिने भनेमा विभाजन देखिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update