Public Pana
वन फँडानीको आरोपमा सामुदायिक वनका अध्यक्षकै भाइसहित दुई पक्राउ

चुरे क्षेत्रसँग जोडिएको कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातो पानी सामुदायिक वनमा व्यापक फँडानी भएको छ ।

झन्डै एक सय जति सालका हरियो र सुकेका रुख काटेर वनभित्रै चिरान गरी तस्करी भएको हो । सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा उक्त क्षेत्रमा पछिल्लो समय व्यापक वन फँडानी भइरहेको स्थानीले बताएका छन् ।

वन फँडानीमा संलग्न दुई जनालाई स्थानीयले पक्राउ गरेर वन कार्यालयमा बुझाएका छन् । पक्राउ पर्नेमा सामुदायिक वनका अध्यक्ष कैलाश विकका भाइ कर्ण बहादुर विक र स्थानीय टेक राज ओझा छन् । दुवै जनामाथि वन मुद्दा दायर गर्ने तयारी भइरहेको इलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले जानकारी दिए । उक्त क्षेत्रमा एक सय ९० क्यूफिट काठ बरामद भएको उनले बताए ।

करिब ९० देखि एक सय वटासम्म सालका रुख काटिएको उनले जानकारी दिए । तस्करहरूले वन भित्रै चिरान गरेर समिलहरुमा काठ बेच्ने गरेको पाइएको छ ।

रातो पानी सामुदायिक वन चुरे क्षेत्रको वन हो । उक्त वनमा लामो समयदेखि भइरहेको अवैध फँडानी र तस्करीका विषयमा स्थानीयले पटकपटक अत्तरिया वन कार्यालयमा जानकारी दिँदा पनि चासो नराखेपछि उपभोक्ता स्वयम्ले पक्राउ गरी वनकर्मीलाई जिम्मा लगाएका हुन् । 

स्थानीय बासिन्दाले वन फँडानीसँगै तस्करहरूले बँदेल, चित्तललगायतका वन्यजन्तुसमेत सिकार गर्ने गरेको जनाएका छन् । सामुदायिक वनका अध्यक्ष अध्यक्ष कैलाश विकको प्रत्यक्ष संलग्नतामा चोरी तस्करी भइरहेको दाबी गर्दै स्थानीय उपभोक्ताले उनको राजीनामा माग गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update