Public Pana
सिडियो हुँदाको ‘फेक इन्काउन्टर’ सम्बन्धी जाहेरीमा पनि सचिव राउतमाथि अनुसन्धान 

प्रहरीले पक्राउ गरेका सञ्चार तथा सूचना प्रविधिसचिव कृष्णबहादुर राउतमाथि सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सिडियो) हुँदा ‘फेक इन्काउन्टर’ सम्बन्धी अर्को फैजदारी जाहेरी प्रहरीमा छ ।

ललितानिवासको जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा गत आइतबार पक्राउ परेका सचिव राउतमाथि सर्लाहीका कुमार पौडेलको ‘इन्काउन्टर’ घटनामा परेको जाहेरी पनि प्रहरीमा छ । त्यो जाहेरीमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । राउतमाथि ‘फेक इन्काउन्टर’ मा पनि अनुसन्धान गरेर निष्कर्षमा पुगिने प्रहरी अनुसन्धान केन्द्र (सिआइबी)ले जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको ०७६ असार ५ मा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यतिवेला राउत सर्लाहीको सिडियो थिए ।

त्यो घटनालाई प्रहरीले इन्काउन्टर भनेको थियो । राष्ट्रिय मानव अधिकार आयोगले भने नियन्त्रणमा लिएर गोली हानी पौडेलको हत्या गरेको निष्कर्ष निकालेको थियो । घटनामा राउत प्रत्यक्ष संलग्न नभए पनि जिल्लाको सिडिओ भएका आधारमा जाहेरी परेको थियो ।

यो घटनामा राउत, मधेस प्रदेशका तत्कालीन डिआइजी हरिबहादुर पाल, सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, बागमती नगरपालिकाका मेयर भरत थापा, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्यकुमार कार्कीविरुद्ध दर्ता जाहेरी प्रहरीमा छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update