ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १४ जना थप पाँच दिन हिरासतमै रहने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १४ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको हो ।
गत आइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो ।
आज मंगलबार यो प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।
यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए ।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो ।
त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो ।
समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो ।