Public Pana
कामनपाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान साउन १ देखि निषेध

काठमाडौँ महानगरपालिका (कामपा)का सार्वजनिक स्थानमा आगामी साउन १ गतेदेखि धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ ।
पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । अभियान कामपा र बानेश्वर व्यापार संघले संयुक्तरूपमा गर्न लागेका हुन् ।
अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको संघका अध्यक्ष नवीन लुइँटेलले जानकारी दिएका छन् । उनका अनुसार आज मंगलबारदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गरिने छ ।
सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्दछ ।
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनु परेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेकोले सार्वजनिक स्थानमा कडाई ल्याइएको कामपाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update