Public Pana
आफू लामो समयसम्म प्रधानमन्त्री नहुने दाहालको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लामो समयका लागि प्रधानमन्त्री नहुने खुलासा गरेका छन् । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरणमा अब आफ्नो प्रधानमन्त्री समय निरन्तर रहेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, “अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास रहेको छैन, म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो, म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ, मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन, तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु, त्यही गर्दैछु ।”

उनले मिटरब्याज पीडितहरूको सम्बन्धमा आफू स्वयम् र अहिलेको सरकार गम्भीर रहेको बताए ।
मिटरब्याजको गम्भीर प्रकृतिको अवस्था बुझेरै सरकारले हतारमा अध्यादेशमार्फत् कानुन ल्याएर कारबाही अघि बढाएको पनि प्रधानमन्त्री दाहालले दाबी गरे ।
उनले भारतीय सरदार प्रितम सिंहको विषयमा दिएको विवादित अभिव्यक्ति भावनामा आएर बाहिरिएको भन्दै आत्मालोचना गरेका थिए । तर आफू सार्वभौमसत्ताका लागि सधैँ प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताएका थिए ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update