Public Pana
साथीले हानेको बन्दुक लागेर प्रधानको मृत्यु

नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।’
मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update