Public Pana
भारतले धौलीगंगाको बाँध खोल्ने 

भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्न लागिएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका २६ असारमा १५ घण्टाको लागि खोल्न लागिएको छ । यो परियोजनाको बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीका अनुसार धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोलिने जानकारी आएको छ । यो अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न प्रशासनले अनुरोध गरेको छ । भारतले सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्न लागेको जानकारी पठाएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

 


 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update