Public Pana
युक्रेनलाई विवादास्पद् ‘क्लस्टर बम’ दिनेबारे अमेरिकाकै सहयोगी राष्ट्रहरू बीच मतभेद

युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए ।
प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन् ।
क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ ।
क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई “डड्स“ भनिन्छ ।
विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ ।
बाइडनले सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका हुन् ।
राष्ट्रपतिले “यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको” बताए । यद्यपि “युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको बताएका थिए ।

मानव अधिकार समूहहरूले उक्त निर्णयको तत्कालै आलोचना गरेका थिए । एमनेस्टी इन्टरन्याश्नलले क्लस्टर अस्त्रहरू “द्वन्द्व समाप्त भएको लामो समयसम्म नागरिक जीवनका गम्भीर खतरा“ बन्न सक्ने बताएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरू समक्ष अमेरिकाले युक्रेनमा पठाउन लागेको क्लस्टर बमहरूको असफलता दर रुसले युद्धमा प्रयोग गरेको उस्तै अस्त्रहरूको तुलनामा कम भएको बताएका थिए ।
तर अमेरिकाका केही पश्चिमी सहयोगी राष्ट्रहरूले यसको निर्णयमा समर्थन जनाउन अस्वीकार गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ००:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update