Public Pana
भारतको उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको  निधन

भारतको उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको ८३ बर्षको उमेरमा सोमबार निधन भएको छ । 

उनका छोरा एवं उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सेयर गर्दै आफ्नो आदरणीय बुवा एवं सवैका सम्मानित नेता मुलायमसिंह यादवको निधन भएको जानकारी गराएका छन् ।

गुरुग्रामस्थित मेदान्त अस्पतालमा यादवको निधन भएको फोटो फेसबुमा छोरा अखिलेशले सेयर गरेका छन् । उनलाई अक्टोबर २ देखि उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनको सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।

आइतबार अस्पतालले मुलायमसिंह यादवको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको र उनलाई जीवन रक्षाका औषधि दिएको जानकारी गराएको थियो ।

सन् १९३९ नोभेम्बर २२ मा उत्तर प्रदेशको इटावामा उनको जन्म भएको थियो । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उनी ३ पटक मुख्यमन्त्री बनेका थिए । ७ पटक लोकसभा र १० पटक उत्तर प्रदेश विधानसभाको सदस्यको रुपमा यादव निर्वाचित भएका थिए । 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update