Public Pana
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

 नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । 

बिहीबार बैठक सुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराए । 

त्यसपछि एमालेका सांसदहरु उठेर विरोध जनाइरहे । १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक बस्न आग्रह गरे । उनले प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागौँला भन्दै बस्न गरेको आग्रहलाई समेत एमालेका सांसदहरुले अस्वीकार गर्दै उठिरहे । 

यसपछि अध्यक्ष तिमिल्सिनाले शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटमा बैठक बस्नेगरी स्थगित गरेका हुन् । यसअघि बुधबार पनि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update