Public Pana
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । 
सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो ।

महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताउनु भयो ।

उहाँले सोमवारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधवार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरुसँग बैठक बसी थप निर्णय गरिने बताउनु भयो । उहाँले सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरि क्षेत्रमा पार्किङ गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै अर्का महानगर प्रहरी ध्रुव सिंह थापाले एम्बुलेन्स र दमकल बाहेकका सवारी साधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘शालिक गेटदेखि यता सम्पदा क्षेत्र भित्र चाहीँ प्रवेश निषेध सम्पूर्ण गाडीहरु, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरु सबै गाडीलाई हिजोदेखि नै बन्द गरिसकिएको छ । भोलि यहाँ मेयरसाबको अध्यक्षतामा बैठक बसेर थप निर्णय गर्छ । पार्किङको लागि न्युरोड, विशाल बजार बाहिर नै पार्किङ गर्ने र हिँडेर आउने सिस्टम शुरु भएको छ ।’

वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरको बुझाइ छ । 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update