Public Pana
गठबन्धनको सरकार पाँच वर्ष चल्ने प्रधानमन्त्री दाहालको दाबी

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन ।

हामी समझदारीका साथ अगाडि बढ्छौँ ।” भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उहाँले थप तीव्रताका साथ अघि बढ्ने बताउनुभयो । “बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो ।

विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो– “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ ।

जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस रहेको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।” अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उहाँको भनाइ थियो । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताउनुभयो ।

“भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्नु ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, उहाँले भन्नुभयो ।

पारवाहन सन्धि पुनरावलोकन महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताउनुभयो ।

यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने जिकिर गर्दै उहाँले यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गर्नुभयो । राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराउनुभयो । चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उहाँको भनाइ थियो ।

हवाईमार्गका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने जिकिर गर्दै उहाँले चीन जाँदा पनि यस विषयमा छलफल हुने बताउनुभयो । भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको जिकिर गर्दै उहाँले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताउनुभयो ।

पोखरामा शुक्रबार सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उहाँले बताउनुभयो ।

त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताउनुभयो ।

तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वका रहेका प्रधानमन्त्री दाहालले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update