Public Pana
बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ ।

बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो ।

स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान मारमा छन् ।

यस्तै सिगास गाउँपालिका–५ ढुङ्गाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा नदी पस्ने खतरा बढेको छ ।

८० भन्दा बढी परिवारको बस्ती रहेको ढुङ्गाडमा सेती नदीले बस्तीतर्फ कटान सुरु गरेको र स्थानीय सुरक्षित स्थानमा सर्न थालेका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र चन्दले जानकारी दिनुभयो । 
    
नदी बस्तीतर्फ आउन थालेपछि स्थानीय बासिन्दा खाद्यान्न तथा बाँसका लगि चाहिने सरसामान नजिकैको शारदा माध्यामिक विद्यायलमा सर्न थालेका हुन् ।

गत वर्ष कात्तिकमा आएको लगातारको वर्षाले सेती नदी बस्तीमा पसेपछि यहाँ धानबालीमा ठूलो क्षति पुगेको थियो । बैतडीमा बुधबार रातिदेखि लगातार वर्षा भइरहेकाले जिल्लाको जनजीवन प्रभावित भएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update