Public Pana
विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउन सकारात्मक प्रगति भएको छ: उप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । 

ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै  खड्काले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै दूत गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।  

मन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका  समस्या समाधानमा मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उनले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल   सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने विश्वास दिलाए । 

 खड्काले सरकारले   एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए । मन्त्री खड्ककाले एनआरएन नागरिकता छिट्टै कार्यान्वयनमा आउने विषयमा बोल्दै भने, 'संविधानले परिकल्पनागरे अनुसार नागरिकता ऐन आएको छ छिट्टै नियमावलीको काम सकिन्छ । काम सुरु भइसकेको छ ।  सरकार र सिंगो संसद एनआरएनएको पक्षमा छ ।' 

उनले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।   
उनले भने, 'विदेशमा सिकेको ज्ञान सीपलाई जुन क्षमता र हैसियत मा सकिन्छ त्यसरी प्रयोग गर्न छलफल गरौँ सरकारले गर्ने निर्णय गर्छ ।'  मन्त्री खड्काले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन आग्रह गरे । 

 सम्मेलनका बिशिष्ठ अतिति पूर्व उपप्रधानमन्त्री एवं संघीय संसदका माननीय सांसद रघुवीर महासेठले गैरआवासीय नेपाली संघलाई सक्रिय र बलियो  बनाउ जोड दिए । उनले संस्था भित्र एकता कायम गरि  एकीकृत रुपमा अघि बढाउन नेपालका राजनीतिक दलहरुले कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update