Public Pana
सरकारले थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने

सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । 

स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । औद्योगिक ग्रामको प्रमुख उद्देश्य छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटी स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढाउनु हो ।

औद्योगिक ग्राम स्थापनाको लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा २५, पहाडी क्षेत्रमा ३५ रोपनी र तराई क्षेत्रमा ७ बिघा जमिन हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, औधोगिक ग्राम घना मानव बस्तीदेखी न्युनतम ५ सय मिटरको दूरीमा हुनुपर्ने, २ सय मिटरको परिधिभित्र मानव बस्तीको विकास हुन नहुने, अन्तर्राष्ट्रिय सीमादेख न्युनतम २ किलोमिटरको दूरी हुनुपर्ने,  उद्योग स्थापनाको लागि प्लट कुल जग्गाको ६० देखि ७० प्रतिशत हुनुपर्ने, औद्योगकि ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ।

कार्यविधिअनुसार औद्योगिक ग्राम भित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बनाउनु पर्नेछ । औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा सञ्चालन गरिने छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update