Public Pana
जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएनः अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गर्नुभएको छ । 
आईतवार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गर्नुभएको हो ।

त्यस्तै आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने उहाँको दाबी छ । उहाँले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताउनु भयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हामी चाहान्छौँ, यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस् । र यो गठबन्धन अगाडी बढुन् । र सरकारले डेलिभरी दिनुपर्छ जनतालाई । परिवर्तनको नेतृत्व सरकारले गर्नुपर्छ । बाटो खोल्नुपर्छ । यद्यपी अहिले आएको बजेटले जनतालाई निकै निराश तुल्याएको छ । सबभन्दा पछि परेका कर्णाली प्रदेश, मधेस प्रदेशका जनतालाई बढी निरुत्साहित बनाएको छ । देशको आर्थिक व्यवस्थालाई सुदृढ गर्दै अर्थतन्त्रलाई गति दिने खालको बजेट नआएकोले पनि जनता निराश छन् । यसलाई सच्याउँ, सुधारौँ भन्दैछौँ हामी । सरकारलाई निरन्तर अगाडी बढाउँ । तर सरकारको दायित्व जनताको राहत दिने, जनताका हितमा काम गर्ने र मुलुकको अर्थतन्त्रलाई अगाडी बढाउने, गरिबी र बेरोजगारीबाट मुक्ति दिलाउने र जनताको आवाजलाई सुन्नुपर्छ । अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिलेपनि हल हुने थिएन । जनता समाजवादी पार्टी नभए नेपालमा संघीयता कहिले आउने थिएन । हिजोको मधेशी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी हो । यदी जनता समाजवादी पार्टी नभएको भए धर्म निरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए ।’

अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचन प्रणालीपनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो – ‘संघीयतालाई संविधान संशोधन गरेर प्रदेशका संरचनाहरुलाई सच्याउनु पर्दछ । प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने र साँच्चैको संघीयताको प्रत्याभुति जनतालाई दिलाउनका लागि संविधान संशोधन बाहेक अर्को बाटो छैन । अहिले देखिएका विकृति, विसंगति सिस्टमले नै ल्याएको हो । उत्पादन गर्दैछ अझै । अहिलेको शासकीय स्वरुप सरकार ढल्ने हो कि भन्ने यस्तो मानसिकता अहिलेको शासकिय स्वरुप र प्रणालीको हो । नेपालमा जुनखालको संसदीय प्रणाली अपनाइयो, जुनखालको निर्वाचन प्रणाली अपनाइयो यसले राजनीतिक स्थिरता दिन सक्दैन र विकासको गतिलाई अगाडी बढाउन सक्दैन । भ्रष्टाचार, कमिशनतन्त्र जस्ता विकृति र विसंगतिलाई अन्त्य पनि गर्न सक्दैन । अहिलेको जस्तो महंगो चुनावले भ्रष्टाचार नबढाए के गर्छ त ? विकृत निर्वाचन प्रणालीले अनियमितता नजन्माइ के गर्छ त ? त्यसकारण करेक्शन शासकीय स्वरुपमा गर्नुपर्दछ । जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति हुने, राष्ट्रपतिले सक्षम र विज्ञ व्यक्तिहरुबाट सरकार निर्माण गरेर स्थिरता, विकास र समृद्धिलाई अगाडी बढाउनुपर्दछ । महंगो र विकृत निर्वाचन प्रणालीलाई अन्त्य गरेर समावेशितामा आधारित समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक संसदको निर्माण गर्ने, जहाँ पैसाको खर्च नहोस् । यो परिवर्तन गर्नका लागि वर्तमान संविधान संशोधन, परिमार्जन गर्न जरुरी छ । शासकिय स्वरुप, निर्वाचन प्रणालीमा सुधार भएन, राज्यको संरचना जुन छ ७ प्रदेशको यसमा सुधार भएन र पहिचानलाई मान्यता दिएर त्यसका आधारमा अगाडी बढेन भने भविष्यमा नयाँ संविधान बनाउनुपर्ने पनि आउनसक्छ । यो संविधानले धान्न सक्दैन । तर हामी चाहन्छौँ, अहिले नयाँ संविधान तुरुन्तै नबनाऔँ । यसलाई सुधार्ने प्रयास गरौँ । सुध्रिन सकेन भने त्यसपछि विकल्प खोज्नुपर्ने आउनसक्छ ।’

उहाँले पहिचानमा आधारित संघीयता हुनुपर्ने पनि बताउनु भयो ।

 

 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update