Public Pana
पोखरा बिमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

१ जनवरी २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। 

हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ।IMG_98891687312783.jpeg

 फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्र्यागन बोट रेस फेस्टिभल’ लाई लक्षित गरेर सिचुवानले बुधबार चार्टर्ड उडान गर्न लागेको हो। 

बुधबार बिहान ९:३० बजे पोखरामा अवतरण हुने उक्त उडानमार्फत फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु अवतरण गर्दै छन्। सोही उडानमार्फत हाल चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसदहरू प्रदीप यादव, धवलशमशेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशङ्कर चौधरी र जीवन परियारसहित नौ जना समेत पोखरामा अवतरण गर्ने छन।

सिचुवानको एयरबस ए–३१९ विमानमार्फत १३० जना यात्रु पोखरा विमानस्थलमा अवतरण हुने छन्। उक्त विमान करिब दुई घण्टा पोखरा विमानस्थलमा बसेर काठमाडौँ हुँदै बुधबारै चीनको छेङ्दु फर्किने छ।IMG_98881687312781.jpeg

विमानस्थल व्यावसायिक उडानका लागि तयार रहे पनि हवाई इन्धन भण्डारण डिपो नबन्दा अहिले झन्डै ६ किलोमिटर टाढाको पुरानो विमानस्थलबाट ढुवानी गरेर जहाजमा इन्धन भर्नुपर्ने अवस्था छ। फ्लाइट क्याटरिङको जिम्मा लिएको सोल्टी क्राउनले पनि आफ्नो पूर्वाधार तयार गरिसकेको छैन।

विमानस्थलमा न्यारो बडी एयर बस–३२०, बोइङ–७३५ विमान उडान र अवतरण गर्न सक्छन्। २ हजार ५ सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिने जनाइएको छ। 

विमानस्थलमा हाल आन्तरिकतर्फका बुद्ध, यती र सौर्यले नियमित उडान गर्दै आएको छ।

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो।

पोखराबाट छेङ्दुमा व्यावसायिक उडानका लागि हाल हिमालय एयरलाइन्सले आन्तरिक तयारी गरिरहे पनि अन्य विदेशी हवाई कम्पनी उडान अनुमतिको प्रक्रियामा आएका छैनन्।

प्रधानमन्त्रीको भारत भ्रमणपछि भारततर्फ सिधा उडानका लागि पुनःअनुमति मागिएको र कूटनीतिक रूपमा छलफल भइरहेको छ।

विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अवतरण, बिसान, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिएको छ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update