Public Pana
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुंवर र महेन्द्र यादव भिडदै

नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको अध्यक्षका लागि योगेन्द्र कुँवर र महेन्द्र यादव प्रतिस्पर्धा गर्ने भएका छन्।

ट्रेड युनियन कांग्रेसको सोमबारदेखि काठमाडौंमा सुरु भएको सातौं महाधिवेशनका लागि पार्टीका दुई पक्षले प्यानल खडा गरेका छन ।‌ कांग्रेस संस्थापन पक्षले योगेन्द्र कुँवरको नेतृत्वमा प्यानल बनाएको छ भने संस्थापनइतरले महेन्द्र यादवलाई अघि सारेको छ।

कुँवर वर्तमान समितिमा महासचिव छन्। संस्थापनइतर समूहबाट अघिल्लो महाधिवेशनमा महासचिव जितेका उनले समूह फेरेर संस्थापनमा गएर अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

संस्थापनइतर समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका यादव वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन्।

कुवँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव उम्मेदवार बन्ने भएका छन्। अर्को पक्षले उक्त पदमा तेजेन्द्रजंग कार्कीलाई उम्मेदवार बनाएको छ

खुला उपाध्यक्षमा संस्थापनपक्षबाट शंकर लामिछाने र ध्रुवचन्द्र गौतम उम्मेद्वार हुने भएका छन। सोहि पदमा गणेशबहादुर केसी र ज्योती कोइराला संस्थापनइतरबाट उम्मेदवार बनेका छन्।

संस्थापन पक्षले महिला उपाध्यक्षमा भगवती खड्कालाई अघि सारेको छ। संस्थापनइतरले महिला उपाध्यक्षमा राधिका कुँइकेल प्रतिस्पर्धी बनाएको छ।

महासचिवमा संस्थापन पक्षले डिपी अर्याल र संस्थापनइतरले अजयकुमार राईलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, कोषाध्यक्षमा संस्थापन पक्षले जनकराज पाण्डे र संस्थापनइतर पक्षले संजय कुमार दाहाललाई उम्मेदवार बनाएको छ।

४९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि थप उम्मेदवारको नाम टुंगो लाग्न बाँकी रहेको स्रोतले जानकारी दिए। सोमबारदेखि सुरु भएको महाधिवेशनको मतदान बुधबार (भोलि) हुनेछ।पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार महाधिवेशनको उद्धघाटन गरेका थिए।

महाधिवेशनका लागि ४९० प्रतिनिधि सहभागी भएका छन्। प्रतिनिधि केन्द्रीय समितिको अतिरिक्त महिला र युवा समिति पनि चयन गर्नेछन्। महिला र युवा समितिका लागि छुट्टै मतदान हुने व्यवस्था छ। ती दुई समितिमा १३/१३ जना निर्वाचित हुनेछन्। कार्यसमितिको पदावधि चार वर्षको हुनेछ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update