Public Pana
कांग्रेस र ट्रेड युनियन कांग्रेसबीच भएका सम्झौता कार्यान्वयन गर्ने महामन्त्रीको प्रतिबद्धता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र ट्रेड युनियन कांग्रेसबीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पार्टी र टे«ड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताउनुभयो ।

“पार्टीको विधानमा मजदुरसम्बन्धी गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै पार्टीमा मजदुरलाई प्रतिनिधित्व गर्न कांग्रेस लाग्छ”, उहाँले भन्नुभयो । महामन्त्री थापाले कांग्रेस मजदुरलाई सँगसँगै लिएर अगाडि बढ्न चाएको बताउनुभयो ।

“मजदुरको तागतले कांग्रेस बलियो बन्छ, कांग्रेस बदलिए देश बदलिन्छ”, महामन्त्री थापाले भन्नुभयो । श्रमिक अस्पताल निर्माणका लागि नेपाल ट्रेड युनियन कांग्रेस सङ्घर्ष गर्न पछि हट्न नहुने उहाँको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले लिएको सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाका कारण नेपाली श्रम बजार बढेको बताउनुभयो ।

उहाँले कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको स्पष्ट पार्नुभयो । ट्रेड युनियन ऐन, मौजुदा श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

उहाँले श्रमिकको मुद्दा आगामी नीति अधिवेशनमा उठाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो देश बन्छ, बनाउन सकिन्छ भन्ने मनोविज्ञानका साथ अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । महामन्त्री शर्माले श्रमिकको मुद्दा समाधान गर्न कांग्रेस नेतृत्व सधैँ तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update