Public Pana
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई भक्तपुरमै सचेतना कक्षा


भक्तपुरमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई भक्तपुरमै सचेतना कक्षा लिन पाउने व्यवस्थाको थालनी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा भएको एक कार्यक्रममा यस्तो व्यवस्थाको सुरुवात गरियो । 

यो व्यवस्थाले काठमाडौं गएर जरिवाना तिर्नुपर्ने र कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा कारबाहीमा पर्ने सवारी चालकले भक्तपुरमै जरिवाना तिर्न र कक्षा लिन पाउने भएका हुन् । मादक् पदार्थ सेवनबाहेक लेन अनुशासन, रातो बत्ती र तीब्र गतिका कारण कारवाहीमा पर्ने चालकका लागि यस्तो व्यवस्था गरिएको जनाइएको हो ।

मापसेमा पर्नेले भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको जनाइएको छ ।जिल्लामै जरिवाना तिर्न र कक्षा लिन पाउने व्यवस्थाले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने विश्वास बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजु कार्कीले ट्राफिक कारवाहीमा परेका चालकलाई भक्तपुरमै सचेतना कक्षा संचालन हुने कुराले जिल्लाबासीलाई सहज बनाउने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update