Public Pana
पहाडी जिल्लामा गएको बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोले २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरुले पीडितहरुको उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

सांसद खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताए।

सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएका जानकारी दिए।

सांसदद्वय खड्का र भट्टराई बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए ।

यस्तै सांसद रामकुमार राई र अशोककुमार चौधरीले बाढीपहिरोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update