Public Pana
हेटौडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार गर्ने

हेटौडाका जनप्रतिनिधिहरुले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन्।

बागमती प्रदेशको राजधानी रहेको हेटौडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरुले बहिस्कार गर्ने घाेषणा गरेका हुन।

सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेकाे जानकारी दिए। प्रदेश सरकारले राजधानी हेटौडाको विकास निर्माणका लागि बजेट विनियोजन नगरेको उनीहरुको आरोप छ।

प्रदेश सरकारले शुक्रबार ६३ अर्ब ६० करोडको बजेट ल्याएको थियो। सो बजेटमा कर्रा करिडोरका लागि १५ करोड विनियोजन गरे पनि हेटौडाकाे अन्य विकास पुर्वाधारका लागि बजेट नछुटाए पछि उनीहरु बिरोधमा उत्रेका हुन। उनीहरुका अनुसार हेटौडा नगर क्षेत्र भित्र हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरू सहभागी भए उनीहरूलाई कालो झण्डासमेत देखाउँदै बहिष्कार गरिनेछ।

हेटौँडा १४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरूले प्रदेशका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्न बाध्य भएको जनाए। उनका अनुसार प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुनेछन। 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update