Public Pana
एक्सन हिराेइनकाे रुपमा देखिदै अभिनेत्री पूजा शर्मा

अभिनेत्री पुजा शर्मालाई दर्शकले फिल्ममा एक्सन अवतारमा सायदै कमैमात्र देखेका छन् । किनकी उनी बढी मात्रामा प्रेमकथाका फिल्ममा मात्र देखिन्छिन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अतारमा देखिने भएकी छिन्। चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ।

फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजम देखिँदैछन्। कुन्साङको यो डेब्यू फिल्म हो। फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन्। रुपेशले यस अगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।

‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं। फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ,’ रुपेशले भने।

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ। अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन्।

श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन्। फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update