Public Pana
दशैमा समेत सडक मर्मत भएन, यात्रुहरुलाई चरम सास्ती

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ । 

मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ । सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा त छँदैछ दुर्घटनाको जोखिम पनि बढेको छ । 

सडक खाल्डाखुल्डी हुँदा दशैँमा यात्रा गर्ने यात्रुले सास्ती पाएका छन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँका धेरै ठाउँमा सडक खाल्डाखुल्डी हुँदा दशैँका बेला यात्रा गर्नेले सास्ती पाएको स्थानीयवासी बताउँछन् । 

सडकको दूरावस्थाले गर्दा यात्रा गर्दा सास्ती खेप्नुपरेको व्यास नगरपालिका–११ का भानुभक्त सोतीले बताउनुभयो । सदरमुकाम दमौली नजिकैका अधिकांश ठाउँमा सडक खाल्डाखुल्डी पर्दा यात्रा गर्दा जोखिमका साथै दुर्घटनाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ । सोती आक्रोश पोख्दै भन्नुहुन्छ, “दशैँको बेलामा बाइक र स्कुटरमा हिँड्नेको पीडा सुविधायुक्त गाडीमा हिँड्नेलाई के थाहा ।”

उहाँले दशैँका लागि लक्षित गरी सडक मर्मतका लागि नगरपालिकालाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नगरपालिका र वडासँग स्रोत साधन र बजेट छैन भने जनप्रतिनिधि ज्यूँ, बेल्चा लिएर आउनुस् श्रमदानका लागि हामी तयार छौँ ।” पृथ्वी राजमार्ग सङ्घीय सरकार मातहत रहेकाले यसमा केही गर्न नसकिने नगरपालिका बताउँछन् । 

पृथ्वी राजमार्गअन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा मुग्लिन पोखरा सडक विस्तारका लागि काम भइरहेको छ । त्यसले गर्दा सडक सडकमा धुलो बुङबुङ्ती उड्छ । धुलो र खाल्डाखुल्डी सडकले राजमार्गमा यात्रा गर्न जोखिम रहेको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताउनुभयो । “दशँैका बेला त झन आफन्तको जानुपर्छ, सडकको हालत यस्तो छ की यात्रा गर्नै मन लाग्दैन”, उहाँले भन्नुभयो, “तर के गर्नु दुःखकष्ट गरेरै भए पनि आफन्तकहाँ पुग्नैप¥यो ।”

मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदी भने दशैँका लागि साना–साना खाल्डा मर्मत गर्ने काम गरिएको बताउनुहुन्छ । “साना–साना खाल्डामा एक चरणको मर्मत गरेका छाँै, काम भइरहेका ठाउँमा भने सडक मर्मत गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “ बेला–बेलामा पानी हाल्ने काम पनि भइरहेको छ ।”

दशँैमा सर्वसाधारणलाई केही सहज होस् भन्नका लागि फूलपातीसम्म धेरै ठाउँका खाल्डाखुल्डी मर्मत गरिएको उहाँले बताउनुभयो । “ठूला खाल्डा परेका ठाउँमा काम भइरहेका थिए त्यहाँ मर्मत गर्न सकेनौँ”, उहाँले भन्नुभयो । 

उक्त खण्डमा दशैँका लागि काम रोकिएको छ । कामदार फूलपातीदेखि घर गएकाले काम रोकिएको उहाँले भन्नुभयो । “दशैँपछि मात्र अब काम सुचारु हुन्छ, कामदार घर गएका छन्”, प्रमुख सुवेदीले भन्नुभयो । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ । 

पूर्वी खण्डअन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update