Public Pana
मुख्यसचिवमा वैकुण्ठ अर्यालको सम्भावनाः बिहिबारको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको मुख्यसचिव नियुक्त हुनसक्ने सम्भावना बढेर गएको छ। 

अनिवार्य अवकाशमा जाने समय ३ महिना पनि बाँकी नहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएका सचिव अर्याललाई भोली बिहान डाकिएको आकस्मिक मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिवमा नियुक्त गरिन लागेको स्रोतले जानकारी दिएको छ। उनी असार ३ गतेदेखि अवकाश हुँदै थिए। ‘अहिलेसम्म बुझ्दा सम्भवतः उहाँलाई भोली मुख्यसचिवमा नियुक्त गर्ने निर्णय हुन्छ’ ती स्रोतले भने, ‘अबको केही घण्टामा परिस्थिति बदलिएन भने नयाँ मुख्यसचिवका रूपमा अर्याललाई पाउनुहुन्छ।’ 

प्रधानमन्त्री प्रचण्डले भोली बिहान ९ः३० बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।

अवकाशको अन्तिम सातातिर सचिव अर्यालको दौडधुप निकै बढेको थियो र जसको परिणाम सकारात्मक हुने करिब करिब पक्का भएको प्रशासन उच्च स्रोतको दाबी छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर उड्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रक्षा मन्त्री पूर्णबहादुर खण्डाबिच भएको छलफलमा अर्याललाई मुख्यसचिव बनाउने सहमति भएको र त्यसपछि बसेका विभिन्न चरणका छलफलबाट अर्याललाई मुख्यसचिव बनाउने बाटो क्लियर हुँदै गएको स्रोतले बताए। 

आफ्नो पक्षमा निर्णय हुन सक्ने देखिएपछि ढुक्क जस्तै देखिएका अर्यालले ३० गते नै राजीनामा बुझाउने यसअघिको योजना स्थगित गरेसँगै कर्मचारी वृत्तमा एक खालको संकेत आभाष भईसकेको थियो । २०४९ कार्तिक २१ अघि नियुक्त भएका कर्मचारीको हकमा अनिवार्य अवकाश हुन अघि नै राजीनामा दिएको अवस्थामा पेन्सनमा केही रकम थप हुने प्रावधान अनुसार अर्याल मुख्यसचिव नहुने भए केही दिन अघि नै राजीनामा दिने मुडमा थिए । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले नै उनको राजीनामा स्वीकृत गर्ने या मुख्यसचिव नियुक्त गर्ने भन्ने टुङ्गो लाग्ने बताइएको थियो तर अर्यालबाट राजीनामा पेस नभएसँगै सरकारले मुख्यसचिव बनाउन लागेको हो कि भन्ने आभाष कर्मचारी वृत्तमा भएको थियो । अर्याल हालका ७४ जना सचिवहरूमध्ये ज्येष्ठ सचिव हुन्। 

त्यसो त अर्यालको १ दिन पछि अर्थात् ४ गते अवकाशमा जान लागेका यादवप्रसाद कोइराला पनि मुख्यसचिवको लाइनमा छन्। 

हालका मुख्यसचिव वैरागीको ५८ वर्ष उमेर माघमा पुग्ने भएपनि ३ वर्षे सेवाअवधिका कारण असोज १४ गते अवकाशमा जाँदै थिए। वैरागी २०७७ असोज १५ गते मुख्यसचिवमा नियुक्त भएका थिए  तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीले बेलायतको राजदूतका लागि एक्काइस दिन अघि मात्रै वैरागीलाई पद छाडेका थिए। एक हातले नियुक्ति लिएर अर्को हातले राजीनामा बुझाएको चर्चाले त्यति बेला राम्रै बजार तताएको थियो। 

अर्याललाई मुख्यसचिव पद छोड्दा वैरागीले क्यानडाको राजदुत या नेपालमै मन्त्री सरहको कुनै नियुक्ति लिने सहमति भएको बुझिएको छ। यद्यपि न्यूयोर्क पठाउने झिनो सम्भावना पनि विकल्पकै रूपमा रहेको स्रोतको भनाई छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update