Public Pana
गगन थापाको अपिल : फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै जना मिलेर समाधान निकाल्न आह्वान गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद समेत रहेका थापाले  काठमाडौं फोहोरले अस्तव्यस्त सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहेकाहरु अवरोध नगरिदिन आग्रह गरे । उनले सबै बसेर संवाद र समीक्षा गरी समाधान निकाल्न सकिने बताए ।

साथै काँग्रेसबाट निर्वाचित स्थानीय तहको नेतृत्वलाई फोहर व्यवस्थापनको अवरोधमा संलग्न नहुन भनिसकिएको थापाले बताए । 

गगन थापाका भनाइ जस्ताकाे त्यस्तै

काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। अझ केही दिन यस्तै रहे महामारी फैलन सक्ने सम्भावना छ। अतः सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु – कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं।

निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ – हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौं।

कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पूरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो।

प्रधानमन्त्रीलाई भेटेर भनेका छौं, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एकछिन नछोडी काम गर्छौं। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईंहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौं, प्रतिबद्धता पूरा गर्नेछौं, गराउनेछौं। हामी यस पटक तपाईंलाई निराश बनाउने छैनौं।

नेपाली काँग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आह्वान गर्न चाहन्छु( पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ – अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।

सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौं, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔं, सबैले सहयोग गरौं, समाधान निकालौं।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update